जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ७, खगेनकोट निवासी ५५ वर्षीय बल बहादुर शाही फोक्सो क्यान्सरको उपचार गराइरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि, पीडित बल बहादुरका छोराले समाजसेवी करुण शाहीलाई आर्थिक समस्याबारे जानकारी दिएका थिए।

यसपछि, समाजसेवी करुण शाहीले २०८१ श्रावण ८ गते सामाजिक सञ्जालमार्फत बल बहादुरको उपचारका लागि आर्थिक सहयोगको आह्वान गरेका थिए।करुण शाहीका अनुसार, देश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट चार लाख पैँसठ्ठी हजार रुपैयाँ सङ्कलन गरिएको छ।

“पैसाको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचले मैले यो सहयोगको आह्वान गरेको हुँ,” शाहीले बताए।यसअघि पनि शाहीले आर्थिक अभावमा रहेका व्यक्तिहरूलाई सहयोग जुटाउँदै आएका छन्। ,गत पटक पनि आर्थिक अवस्था कमजोर भएकी स्थानीय ३९ वर्षीया दिपा परियार भिरबाट लडेर गम्भीर घाइते हुँदा उनले सामाजिक सञ्जालमार्फत सहयोग सङ्कलन गरेका थिए।

त्यस्तै, २०७९ को विजयादशमीमा खगेनकोट स्थित ऐतिहासिक धार्मिक स्थल कालिका माई भगवती मन्दिरमा तीन लाख बीस हजार रुपैयाँको ५० किलो वजनको मूर्ति स्थापना गराउन उनले आर्थिक सहयोग जुटाएका थिए।२०८० को विनाशकारी भूकम्पबाट प्रभावित खगेनकोट जनविकास आधारभूत विद्यालयका १२५ जना छात्रछात्रालाई अमेरिकाको डल्लास तामाङ फुटबल क्लबको सहयोगमा ट्रयाकसूट, टी-शर्ट, र विद्यालय पोसाक वितरण गर्न पनि शाहीले पहल गरेका थिए।

शाहीले विपत्तिको बेला चिनेजानेका व्यक्तिहरूको सहयोगले विपत् व्यवस्थापन गर्न सकिने बताउँदै, भविष्यमा पनि सामाजिक कार्यमा सक्रिय रहने इच्छा व्यक्त गरेका छन्।