नलगाड नगरपालिकाको सभाहलमा नेपाल कमुनिस्ट पार्टी (एमाले) नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख उपस्थितिमा भएको हो।

कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष विर बहादुर गीरी, भेरि नगरपालिका प्रमुख सिपी घर्ती र विभिन्न अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य विषय संगठन विस्तारमा जोड दिने र मंसिर १६ गते हुने नगर उप प्रमुखको निर्वाचनका लागि तयारी गर्ने कुरा रहेको बताइएको छ।

मुख्यमन्त्री यामलाल कडेल लाई जाजरकोटको भूकम्पपछि स्थायी घरको लागि ध्यानाकर्षण गराएको जाजरकोट जिल्लाको जिल्ला कमिटी अध्यक्ष नरेन्द्र शाहीले जानकारी गराए।

विर बहादुर गीरीले भने, “नलगाड नगरपालिका को नगर उप प्रमुखको उम्मेदवार चयन र चुनावमा कसरी सफलता हासिल गर्ने बारे सो कार्यक्रम गरिएको हो।” उनले तिहारमा देउसी भैलोको आयोजनासँगै पार्टीलाई सक्रिय बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।

नलगाड नगरपालिकाका एमाले इन्चार्ज नरेन्द्र नेपालीले ४०० मेगावाटको नलसिंहगाड जलविद्युत् परियोजनालाई तत्काल अघि बढाउने, विभिन्न सडक र पुलको विकास र भूकम्पको दोस्रो किस्ताका लागि रोकिएका कामहरूलाई सञ्चालन गराउन मुख्यमन्त्री लाई फाईल पेश गरे।

मुख्यमन्त्री यामलाल कडेलले भने, “तपाईं जुन राजनीति गर्नुहुन्छ, त्यो स्वार्थको लागि मात्र रहेको छ भने पार्टीको संगठन घट्न जान्छ। शिक्षा, स्वास्थ्य जस्ता मुद्दामा विशेष महत्व दिनुहोस्, किनकि यी विषयहरू केवल पार्टीको लागि मात्र होइन, व्यक्तिगत जीवनका लागि पनि महत्त्वपूर्ण हुन्छन्।”