सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार पारेका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको यस लोगोले कर्णाली याक्सको यात्रालाई थप रोचक र प्रेरणादायक बनाउने विश्वास गरिएको छ।

हाल काठमाडौंको एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत चपाईले कर्णालीको गौरव र शक्ति झल्काउने सोचका साथ लोगो तयार पारेको बताएका छन्। सेतोपंक्षी न्यूजलाई दिएको प्रतिक्रियामा उनले भने, “हाम्रो टोलीले एनपीएलमा कर्णालीको प्रतिष्ठा र गौरवको प्रतिनिधित्व गरिरहेको बेला म यस अभियानमा आफ्नो सानो योगदान गर्न चाहन्थेँ।” सानैदेखि चित्रकलामा रुचि राख्दै आएका चपाईले यो अवसरलाई विशेष सम्झिएका छन्।

उनले भने, “नेपालले भारत जस्तै क्रिकेट लिग आयोजना गर्नु हामी सबैका लागि गर्वको विषय हो। हाम्रो टोलीलाई समर्थन गर्दै राम्रो प्रदर्शन गर्ने अवसर दिनु अत्यन्त आवश्यक छ।” चपाईले आफ्नो जन्मभूमि कर्णाली प्रति माया र गर्वले उक्त लोगो तयार पारेको बताए।

चपाईका अनुसार कर्णालीको रारा ताल, शे फोक्सुण्डो ताल, काँक्रेविहार लगायतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू कर्णालीको सुन्दरता र गर्वको प्रतीक हुन्, र कर्णाली याक्सको लोगोमा यसैको झलक दिन खोजिएको छ। उनी कर्णाली याक्सको समर्थन गर्दै यस सिजनमा कर्णालीले पहिलो सिजनको उपाधि जित्ने आशा र विश्वास व्यक्त गर्छन्।

“पक्कै पनि कर्णाली याक्सले हाम्रो आशा र सपनालाई बोकेर यस सिजनमा चर्को हर्षोल्लासका साथ मैदानमा उत्रिने छ।”