आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने
२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ। वीरेन्द्रनगर, सुर्खेतको खुल्लामञ्चमा यही मङ्सिर २१ गतेदेखि २८ गतेसम्म महायज्ञ आयोजना गरिने सुर्खेत मानव सेवा आश्रमले जनाएको छ।
भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले आश्रमलाई २९ बिघा जग्गा प्रदान गरेको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीले महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी गराए। आश्रमका अनुसार कुल भवन निर्माणमा ८ देखि १० करोड रुपैयाँको आवश्यकता पर्ने अनुमान छ । जसमा सरकार र समाज दुवैको सहयोग आवश्यक रहेको बताइएको छ।
“हामीलाई आर्थिक सहयोग मात्र होइन, सेवा गर्ने हातहरूको पनि आवश्यकता छ,” संयोजक केसीले पत्रकार सम्मेलनमा भने। “सम्पूर्ण कर्णालीवासीलाई महायज्ञमा जोडिन र सहयोग गर्न आग्रह गर्दछौँ।” महायज्ञका प्रमुख आकर्षणहरूमा भागवत भाष्कर कमलनयन गौतमको प्रवचन, विभिन्न धर्मका गुरुहरूको उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहनेछन्।
२०७५ माघ १८ देखि भाडाको भवनमा सञ्चालन हुँदै आएको यो आश्रमले सुर्खेतमा हालसम्म ४०६ जना बेसहारा व्यक्तिहरूको उद्धार गरिसकेको छ। साथै, स्थापना भएको २०६९ सालदेखि देशभर १० हजारभन्दा बढी सडक मानवहरूको उद्धार गरी व्यवस्थित आश्रय प्रदान गरेको छ। कर्णाली प्रदेश सरकारले यस अभियानलाई थप समर्थन गर्दै चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ।
नयाँ भवनमा मानव सेवा अध्ययन केन्द्रको स्थापना गरिने र आश्रितहरूलाई न्यानो र सुरक्षित वातावरण प्रदान गरिनेछ।
प्रतिक्रिया दिनुहोस्