सुर्खेत । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको उत्प्रेरक र प्रभावशाली सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी छन् ।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ ।

सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ र कोरोना भाइरसको भ्याक्सिन विकासमा काम गरिरहेको अक्सफोर्ड विश्वविद्यालयकी रिसर्चर सारा जिलबर्ट समावेश छन् ।

१८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन् । घरबाट पढ्न भनेर काठमाडौं आएकी उनले अहिलेसम्म दर्जनौं बेवारिसे शबलाई दागबत्ती दिइसकेकी छन् ।