बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु
१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना जबरजंग गण, डिभिजन वन कार्यालय बर्दिया, र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त सहभागितामा यो अभियान सञ्चालन भइरहेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामका अनुसार, गैडाको चोरी सिकार रोक्न र संरक्षण सुनिश्चित गर्न निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती र सम्भावित क्षेत्रहरूको अनुगमन गरिएको छ। साथै, अभियानले वनजंगलमा अल्झिएका वन्यजन्तुहरूको उद्धार, मरेका जनावरहरूको पहिचान, र प्राकृतिक अवस्था सुनिश्चित गर्ने कार्यलाई प्राथमिकता दिएको छ।
यो अभियानका लागि ६ वटा हात्ती र ३० जनाको टोली परिचालन गरिएको छ। टोलीले खाता जैविक मार्ग क्षेत्र, भारतीय सीमा क्षेत्र, बबई भ्याली, र गेरुवाको लालमाटीदेखि कोठियाघाटसम्मका क्षेत्र समेट्नेछ। हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा एकसिङे दुर्लभ गैडा रहेको तथ्याङ्क छ भने खाता जैविक मार्गमा चारवटा गैडा रहेको अनुमान गरिएको छ।
१५ दिनसम्म सञ्चालन हुने यस अभियानले गैडाको अवस्था, चोरी सिकारको जोखिम, संरक्षणका चुनौतीहरूबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। दीर्घकालीन रूपमा गैडा संरक्षण र जैविक विविधताको प्रवर्द्धनमा यसले ठोस योगदान दिने विश्वास गरिएको छ।
निकुञ्जको यो पहलकदमीले गैडाको अस्तित्व जोगाउन मात्र नभई जैविक मार्गमा वन्यजन्तुको स्वतन्त्र आवागमनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्