जाजरकोटमा एमाले उम्मेदवार चढेको गाडीमा ढुंगा प्रहार
सुर्खेत – जाजरकोट, नलगाड नगरपालिका-१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन्। नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीले जानकारी दिएका छन्। नलगाड नगरपालिकाको १ नम्बर सो वडा ७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।
उक्त गाडी (लु २च ६२२४) दल्लीबाट चिउरीतर्फ जाँदै गर्दा नलगाड-१, सिमपानी भन्ने ठाउँमा आक्रमण भएको थियो। ढुंगा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भागेको जनाइएको छ।
गाडीमा एमाले पोलिटब्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्ती, उम्मेदवार सुनिता बोहरा, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती, र प्रेस चौतारी जाजरकोटका अध्यक्ष विनोदकुमार घर्ती सवार थिए।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार गाडीको अगाडिको भागमा क्षति भएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
उम्मेदवार सुनिता बोहराले घटनाबारे प्रहरीलाई खबर गरिएको र आफूहरूले चुनावी प्रचारका क्रममा यस्तो घटना भोग्नुपर्दा चिन्ता व्यक्त गरेकी छिन्। निर्वाचन सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै एमालेले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्