नलगाडमा माओवादीको जित, देवका लामिछाने उपप्रमुखमा निर्वाचित
सुर्खेत। नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गरी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्रा चन्द (सिंह) लाई पराजित गरेकी हुन्। चन्दले ३ हजार १ सय ४७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।
अन्य प्रतिस्पर्धीमध्ये एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्बती पुनले १ सय ७९ मत, राप्रपा नेपालकी सुनिता पुन रावलले ५८ मत, र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत प्राप्त गरे।
२०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले नगरप्रमुख र उपप्रमुख पद क्रमशः माओवादी र कांग्रेसबीच बाँडेका थिए। उपप्रमुखमा कांग्रेसकी सरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गर्दै एमालेकी सुनिता बोहोरालाई पराजित गरेकी थिइन्। यस पटक भने गठबन्धनको अभावले कांग्रेसलाई उपप्रमुख पद गुमाउनुपरेको देखिएको छ।
२०७९ मा ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी एमालेकी बोहराले यो पटक मत घटाउँदै २ हजार ५४२ मा सीमित रहिन्। यस निर्वाचनले नलगाडमा माओवादीको पकड बलियो रहेको संकेत गरेको छ।
२०७९ मा नगर प्रमुखमा माओवादीका डम्मर बहादुर रावत विजयी भएका थिए। यस पटक उपप्रमुख पद पनि माओवादीले हात पारेको छ।
प्रतिक्रिया दिनुहोस्