रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मठमा रहेको सल्ले–मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले हाम फालेर आत्महत्या गरेका छन्। रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ का २७ वर्षीय लक्ष्मण विकले बुधबार दिउँसो १ बजेतिर पुलबाट हाम फाल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

पुलबाट हाम फालेको खबर पाउँदै पातुखोला प्रहरी पोष्टका हवल्दार भीमबहादुर चन्दसहित चार जना र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १२ जनाको टोली घटनास्थल पुगेको थियो। खोजीपछि विकको शव घटनास्थलमै फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवलाई उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। आत्महत्याको कारण हालसम्म खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसै पुलबाट यसअघि पनि एक जनाले हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन्।