काठमाडौं। अजरबैजानको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको अकताउ सहर नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना यात्रु जीवन जोगाउन सफल भएका छन्।

कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दुई बालबालिकासहित २९ जनालाई जिवितै उद्दार गरिएको जानकारी दिएका छन्। तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको उनले बताए।

अजरबैजान एयरलाइन्सको फ्लाइट जेटू–८२४३ अजरबैजानको राजधानी बाकूबाट रुसी क्षेत्र चेचन्याको ग्रोजनीतर्फ उडिरहेको थियो। तर, अकताउ सहरको नजिकै आकस्मिक अवतरणको प्रयास गर्दा विमान दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा बाँच्न सफल कोही पनि कजाक नागरिक नभएको उपप्रधानमन्त्री बोजुम्बायेभले जनाएका छन्। विमानमा ६७ जना सवार रहेको बताइएको छ र दुर्घटनाको कारण र अन्य विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ।