नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले जनताको मन जितेर मात्र नेता बन्नुपर्नेमा जोड दिनुभएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडिमा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको आमसभामा बोल्दै नेता शाहीले विकासप्रेमी र जनताको मन जित्ने नेतृत्वको आवश्यकता औँल्याउनुभयो।

शाहीले माओवादी केन्द्रले सशस्त्र जनयुद्धपछि लामो समय रुकुममा नेतृत्व गरे पनि जनताको अवस्था बदल्न र गुणस्तरीय विकास गर्न नसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वले देशको विकास अवरुद्ध गर्‍यो। गणतन्त्र स्थापनापछि जनतालाई किनेर भेडा बनाउने प्रवृत्ति देखियो। अब यस्तो प्रवृत्तिका दिन सकिए।”

काम गरेर देखाउने कांग्रेस’ हो नेता शाही

कांग्रेस नेता शाहीले पार्टीले बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले माओवादीलाई सामन्तवादको आरोप लगाउँदै सत्तामा पुगेपछि उनीहरू नै सामन्ती बनेको टिप्पणी गर्दै उहाँले नेपाली कांग्रेसले जनतालाई शिक्षित, स्वाभिमानी र आत्मनिर्भर बनाउन चाहेको बताउनुभयो।

शाहीले जनप्रतिनिधिहरुलाई गलत कामको बहाना बनाउने सोच त्यागेर विकास र जनताको जीवनस्तर सुधार्न काम गर्नुपर्नेमा जोड दिनुभयो। रुकुममा युवा विदेश पलायनको समस्या समाधान गर्न गाउँमै विकास र रोजगारीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

आमसभामा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपाली, कर्णाली प्रदेश सरकारका मन्त्रीहरू राजिव बिक्रम शाह र बिजया बुढा, पूर्व मन्त्री बेदराज सिंहलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला सचिव तारक शाहीले गरेका थिए भने सभापतित्व नगर सभापति अमृत बोहराले गर्नुभएको थियो।