कर्णालीका हिरो दलवीर सिंह कामीको कथा
२०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो
नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश” । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार सुनाउन दरवार पसेका भीम मल्ललाई राजाको आदेशमा सैनिकले ढोकामा नै काटेका थिए । यो समाचार सुनेर बिक्षिप्त बनेका उनको पत्नीले सती जाने बेलामा सरापेका थिए, “नेपाल दरवारमा भलो चाहनेको यस्तै गति होस” ।
भीमसेन थापाको दुखद अन्त पछि पनि उनकी श्रीमतीले यहि बाक्य दोहोर्याएको भनिन्छ । हुन पनि यो देशको इतिहास पल्टाएर हेर्यौ भने हामीले यस्तै इतिहासका प्रमाणहरु पाउँछौ । चाहे भीमसेन थापा होस वा बहादुर शाह दुबैले देशको लागी धेरै गरे तर देशले यि दुबैको दुखद अन्त पनि देख्दै नदेखे झै गरे । यि कथा वा भनौ इतिहासका पाना सयौ वर्ष अगाडिको थियो । तर यहाँ केवल ४८ वर्ष अगाडि देशको लागि महत्वपूर्ण एक ब्यक्तित्वको गुमनाम मृत्यु भयो । अझ भनौ हत्या भयो तर कसैलाई कुनै चासो नै भएन । सुर्खेतको इतिहासका प्रमुख ब्यक्तित्व वा भनौ सुर्खेत शहर बसाउन ठूलो भूमिका खेल्ने एक बिशेष ब्यक्तिको मृत्यु भयो ।
बिसं २०३० बैशाख २० गते बिहानै बादेपिपलको वागेश्वरी विद्यालय नजिकैको चौतारोमा शव झुण्डिएको अवस्थामा भेटिएको थियो । धेरैले हत्या गरेर झुण्ड्याइएको भनिए पनि कुनै छानविन नै भएन, यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । दलवीर सिंह कामी सुर्खेतबाट बादेपिपलमा भेरी नदी माथि पुल बनाउने काममा गएका थिए । उनको आत्महत्या गर्नै पर्ने कुनै कारण नै थिएन । तत्कालिन जिल्ला पञ्चायतमा सव-ओभरशियरका जागीरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए । सामाजिक काम भन्दा अरु उनलाई कुनै चिन्ता नै हुदैनथ्यो । तर उनले शत्रुहरु भने मनग्गे कमाएका थिए । पढेलेखेका नभए पनि उनको चर्चा निकै हुने गर्दथ्यो ।
राजाले नै उनलाई भेटे पछि त उनको भेटघाट अञ्चलाधिश र सेनाका गुल्मपति सम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरु भित्र भित्रै जलेका थिए ।
अनपढ भए पनि राजाले नै उनलाई जिल्ला पञ्चायतको सव-ओभरशियरको जागीर दिलाए पछि उनको काम पुलको रेखांकन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो । सुर्खेतबाट नेपालगञ्ज जोड्ने सडकको रेखांकन पनि उनले नै गरेका थिए । भनिन्छ यहि सडकको विषयमा उनको केही ब्यक्तिहरुसंग विवाद भएको थियो । केही ब्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखांकन परिवर्तन गर्न दवाव दिएका थिए । तर दलवीरले सो सडकको महत्व दुरी तथा खर्चको विविध कारणले ति ब्यक्तिहरुको दवावमा काम गर्न अस्विकार गरेका थिए । यसको केही समय पछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । धेरैले यस किसिमको मृत्यु हुँदा यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए । तर यसको कुनै छानविन नै गरिएन । शायद अर्को पक्ष निकै पहुचवाला थिए वा उनीहरुको हैकम बढी थियो होला । तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्युलाई चुपचाप बन्द गरियो ।
बाबुको मृत्युको समय दलवीरको जेठी श्रीमती तिरको छोरा कानपुरमा थियो । कान्छी तिरको जेठो छोरा श्यामलाल भर्खरै सेनामा भर्ति भएका थिए । केवल एक महिना मात्र भएको हुँदा तालिममा थिए । राजा विरेन्द्रको सुर्खेत भ्रमणमा आदित्य शम्शेर जवरा सुर्खेतमा रहेको ४ नं बाहिनीपति हुनुहुन्थ्यो । राजाको स्वागतको लागि मञ्च सजाउने काम तथा राजालाई चढाउने बिशेष उपहार पनि तीन महिना लगाएर दलवीरले नै बनाइदिएका थिए । जसले गर्दा बाहिनीपति आदित्यशम्शेरले दलवीरको छोरा श्यामलाल उमेरले सानै भए पनि सेनामा भर्ना गराइदिएका थिए । २०२९ को चैतमा श्यामलाल सेनामा भर्ति भए । २०३० को बैशाखमा दलवीरको अप्रत्याशित मृत्यु भयो । केवल ५२ वर्षको उमेरमा नै यो संसारबाट बिदा लिनुभयो ।
बिसं १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं ४) मा जन्मनु भएका दलवीर सिंह कामी पेशाले आरन चलाउने तथा फलामका सामानहरु बनाउने गर्दथे । बुबाको साथ दैलेखबाट सुर्खेत झरेका थिए । सुर्खेतमा त्यति बेला औलोको प्रकोप थियो । सुर्खेत झरे पछि पदमपुरमा बस्न थाले । बाबुको साथ आरन चलाउने उनि दिमागले तेज थिए । कुनै पनि नयाँ बस्तुहरु बनाउन तम्सन्थे । दैलेखमा नै पहिलो बिबाह गरेका दलवीरको एक छोरा र एक छोरी सहित श्रीमती दैलेखमा नै रहेका थिए । आफू कामको सिलसिलामा सुर्खेत रहँदा सुर्खेतमा नै मोतीसरासंग दोश्रो बिबाह गरे । दोश्रो बिबाह पछि तीन छोराहरु र एक छोरीको जन्म भयो । उता दैलेखमा पनि अर्को एक छोरीको पनि जन्म भयो । यसरी चार छोरा र तीन छोरीका बाबु बनेका थिए ।
अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका दलवीरको आफ्नै आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । बिभिन्न सामग्रीहरु बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो । उनको काम प्रति लगन र मेहनती थियो । हरेक साल जसो वर्षातमा उर्लदो भेरी नदीलाई देखेका उनलाई गाउँलेको समस्या नजिकबाट नियालेका थिए । बिसं २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । उनलाई त्यस नदीमा एउटा पुलको आबश्यकता लाग्यो । उनले आफ्नो शीप र ज्ञानको उपयोग गर्दै आबश्यक सामग्रीहरु आफैले तैयार गर्न थाले । लामो फलामे साङला बनाए, छोटा तार तथा अन्य सामग्री सहित पुलका सामग्री तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसंग तारहरु बाँधे ।
सुर्खेतको रानीघाटमा पहिलो पुल बनाए । यसको केही समय पछि २०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो । सुर्खेतको रामघाटमा पनि अर्को पुल बनाए । यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । चिगाड खोलामा पनि अर्को झोलुङ्गे पुल तैयार बनाए । हरेक पुल बनाउँदा स्थानिय जनताहरुले पनि उनलाई साथ दिन्थे तथा हौसला पनि दिन्थे । पुल तैयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । स्थानिय जनताहरु खुशि भए ।
२०२० सालमा राजा महेन्द्रको सुर्खेत सवारीको कुरा उठ्यो । सडक यातायातले नजोडिएको सुर्खेतमा राजाको आगमनको लागी विमानस्थल बनाउने तैयारी भयो । सेनाले पनि साथ दिने तथा जनताहरुले पनि जनश्रमदान गर्ने कुरा उठ्यो । राजाको सवारी भनेपछि सबै एकसाथ लागे । सडक सञ्जालले नजोडिएको सुर्खेतमा जमिन सम्याउनको लागि रोड रोलर ल्याउन सकिने कुरै भएन । त्यसपछि रोलर बनाउन दलवीर आफै लागे । उनको आफ्नै दिमाग र मेहनतले सुर्खेत विमानस्थल सम्याउने
प्रतिक्रिया दिनुहोस्