नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी  ओलीनिकट नेताहरू नजाने देखिएको छ।

प्रचण्डले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका छन्।

बैठकका लागि सचिवालयका नौ जनालाई नै बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

प्रधानमन्त्री निकट स्रोतले भने यसबारे जानकारी नभएको दाबी गरेको छ।

‘एक त प्रचण्डले प्रधानमन्त्रीलाई बैठकका लागि बोलाउन हैसियत राख्नुहुन्न। अर्को कुरा उहाँहरूले बोलाउनु पनि भएको छैन र बोलाएको भए पनि जाने कुरै हुँदैन,’प्रधानमन्त्री निकट स्रोतले भन्यो,’हिजो अस्ति खुमलटारमा गुट भेला हुन्थ्यो। अहिले धुम्बाराहीमा गर्न खोजिएको छ। त्यो गुटकै भेला हो।’

सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई खबर पुगेको छ। तर उनी मन्त्रालयको काममा व्यस्त रहेकाले जाने सम्भावना नरहेको उनी निकट स्रोतले बतायो।

अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलको पनि अर्थ मन्त्रालयमा तीन बजे बैठक रहेको बताइएको छ।

गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा भने जाने\नजानेबारे अहिले नै केही भन्न नसकिने उनी निकट स्रोतले बतायो।

‘अहिले नै उहाँ जाने/नजानेबारे केही भन्न मिल्दैन। ईश्वर पोखरेल र विष्णु पौडेल जानुभयो भने प्रधानमन्त्री नगए पनि जानुहुन्छ होला,’ थापा निकट स्रोतले भन्यो,’उहाँहरू नगएमा जाने सम्भावना एकदमै कम छ।’ (स्रोत: सेतोपाती.कम)