सुर्खेत, माघ १२ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, दिउँसो करिब २:३० बजे १० वर्षीय बालक पानीमा डुबेको अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाले बालकलाई तत्काल पानीबाट बाहिर निकालेर नजिकैको अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काका अनुसार बालकको पहिचान अहिलेसम्म खुलेको छैन। उनले भने, “हामीले बालकको पहिचानका लागि आसपासका क्षेत्रमा घरदैलो गरेर सोधपुछ गरेका छौं, तर कसैले पनि बालकलाई चिनेका छैनन्।”

हाल बालकको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ। प्रारम्भिक अनुसन्धानमा बालक पौडी खेल्न गएको जस्तो देखिएको भए पनि घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।