अछामको ढकारी गाउँपालिका–१ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा भएको प्रहरीले निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो (CIB), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त अनुसन्धान टोलीले हत्या भएको निष्कर्ष निकालेको हो।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि ढुंगाले हानेर हत्या

शुक्रबार गोठालो गएका बेला बेपत्ता बनेका किशोरीहरू भोलिपल्ट छिन्ने जंगलमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार, इशरा खड्का र एक किशोरबीच लामो समयदेखि टेलिफोन वार्ता हुँदै आएको थियो। उनीहरूबीच विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटासाट समेत भएको अनुसन्धानले देखाएको छ।

त्यसैगरी, सरस्वती खड्कासँग अर्का किशोरले प्रेम प्रस्ताव राखेका थिए। उनले अस्वीकार गरेपछि आवेशमा आएका युवकले ढुंगाले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक (DSP) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

“पहिले प्रेम प्रस्ताव अस्वीकार गरिन्, त्यसपछि यौन प्रस्ताव पनि अस्वीकार गरिन्। त्यसपछि आवेशमा आएका किशोरले ढुंगाले हिर्काएर सरस्वतीको हत्या गरेका थिए,” DSP भण्डारीले भने।

घटना लुकाउन दोस्रो हत्या

सरस्वतीको हत्या भएपछि इशरा घटनास्थलमा आइपुगेकी थिइन्। उनले फुपू सरस्वतीको हत्या भएको भन्दै गाउँमा खबर गर्ने धम्की दिएपछि किशोरहरूले उनको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ।

DSP भण्डारीका अनुसार, “पहिले पछाडिबाट ढुंगाले हानेर इशरालाई घाइते बनाइयो, त्यसपछि अगाडिबाट हानेर हत्या गरियो।”

घटना लुकाउन किशोरहरूले भीरबाट ढुंगा खसालेको पनि प्रहरीले जनाएको छ। अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको छ।