सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा स्थायी ठेगाना भई सोही स्थान बस्ने २१ वर्षीय रवि सिंह रसैली रहेका छन्।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिँदै बताए कि पीडित युवतीसँग सम्बन्धमा रहँदा रसैलीले उनको जानकारी र सहमति बिना खिचेका अश्लील भिडियो र तस्विरहरू सामाजिक सञ्जाल (म्यासेन्जर) मार्फत पीडितका आफन्तहरूलाई पठाई चरित्रहत्या गरेको आरोप छ। यसको लागि पीडित युवतीले प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदनको आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा रसैलीले यस्तो कार्य गरेको खुल्न आएपछि उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राऊ गरिएको हो। मिति गत माघ २३ बुधबार लमही दाङको वडा प्रहरी कार्यालयको सहयोगमा रसैलीलाई पक्राऊ गरी काठमाडौं जिल्ला अदालतबाट दिन चार (४) म्याद थप गरिएको छ। अहिले अनुसन्धान कार्य जारी छ।
प्रतिक्रिया दिनुहोस्