सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्तरोन्नतिको काम संघ र प्रदेश सरकारको लागत साझेदारीमा हुने भएको छ । साझेदारी अनुसार विमानस्थल निर्माणका लागि जग्गा अधिकरण, टर्मिनल भवन निर्माण, रनवे विस्तार र अन्य विकासका काम गरिने छन् । समझदारी पत्र अनुसार विमानस्थलको धावनमार्गको लम्बाई एक हजार ५ सय मिटरम विस्तार गरिने छ ।

उक्त विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि रु ५० करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशको राजधानीमा रहेको विमानस्थलबाट यहाँका १० वटै जिल्लामा जोडिन नसकेको हवाई सञ्जाल अब भने जोडिने आशा गरिएको छ ।