“अन्धकारबाट उज्यालोतर्फ ” एक सुधारको कथा – मनिष गहतराज

सुरजको जीवन उज्यालो भविष्यको सम्भावनाले भरिएको थियो। शिक्षामा अब्बल, खेलकुदमा रुचि राख्ने, परिवारको स्नेह पाउने भाग्यमानी युवा थिए उनी। उनका बुबा सरकारी कर्मचारी थिए भने आमा गृहिणी। उनलाई राम्रो संस्कार, अनुशासन, र इमान्दारी सिकाइएको थियो। तर सुरजको जीवनले अप्रत्याशित मोड लियो जब उनले साथीहरूसँग रमाइलो गर्ने बहानामा पहिलो पटक रक्सीको स्वाद चाखे। त्यसपछि, विस्तारै लागूपदार्थको यात्रामा लम्किए। सुरुमा सामान्य लागे पनि समयसँगै यसको असर गहिरो हुँदै गयो।
सुरजलाई लागूपदार्थले विस्तारै गाँज्दै लग्यो। सुरुमा, उनले कहिलेकाहीं मात्रै मदिरा सेवन गर्थे। तर विस्तारै यो उनको दिनचर्या बन्न थाल्यो। कलेजका साथीहरूको प्रभावमा परेर उनले अन्य लागू पदार्थको पनि सेवन गर्न थाले।प्रभाव तुरुन्तै देखा परेन, तर विस्तारै उनका व्यवहारहरू परिवर्तन हुन थाले। घरमा कम समय बिताउन थाले, अध्ययनमा ध्यान नदिने भए, र झर्को मान्ने स्वभाव विकसित भयो। आमाबुबाले बुझ्न थाले कि छोरो पहिलेजस्तो रहेन।सुरजको परिवर्तनले उसको परिवारलाई गहिरो चोट पुर्यायो। बुबा-आमा लगातार चिन्तित हुन्थे, तर सुरजलाई आफ्नो गलत बाटो महसुस थिएन। आमाबुबाले सम्झाउने प्रयास गर्दा उल्टै झर्किन्थे। परिवारमा झगडा बढ्न थाल्यो। सुरजको बहिनी, जसले आफ्नो दाइलाई आदर्श मान्थिन्, निराश भइन्। छिमेकीहरू समेत कुरा काट्न थाले। समाजले पनि परिवारलाई टाढा राख्न थाल्यो। आमाबुबा छोरोलाई सुधार्न धेरै प्रयास गरे, तर सुरजको लत दिनप्रतिदिन बलियो बन्दै गयो।
लागूपदार्थ र मदिरा सेवनका कारण सुरजको शरीर कमजोर हुन थाल्यो। उनी रातभर नसामा डुबिरहन्थे, बिहान ढिलोसम्म सुत्थे। खानपान बिग्रियो, तौल घट्न थाल्यो। अनुहार मलिन देखिन थाल्यो, आँखा रातो बन्ने, शरीर काँप्नेजस्ता समस्या देखिन थाले। मस्तिष्कमा असर परेकाले उनको स्मरण शक्ति कमजोर भयो। निर्णय गर्ने क्षमता गुम्दै गयो। उनको भविष्य अन्धकारतर्फ धकेलिँदै थियो। धेरै साथीभाइ टाढा भइसकेका थिए। जसले उनलाई सुधार्ने प्रयास गरे, उनीहरूसँग झगडा गरे। विस्तारै समाजले पनि उनलाई बहिष्कार गर्न थाल्यो। परिवारमा तनाव असह्य भयो। आमाबुबाले धेरै पटक सुधार केन्द्र लैजान खोजे, तर सुरज मानेनन्।
एक दिन, सुरज गहिरो नशामा थिए। उनले सडक पार गर्न खोज्दा गाडीले ठक्कर दियो। उनलाई अस्पताल भर्ना गरियो। शरीर गम्भीर घाइते भयो, तर जीवन बच्यो। यस घटनाले उनलाई केही सोच्न बाध्य बनायो। उनको आमाले अस्पतालको बेड छेउमा बसेर आँसु झार्दै भनिन्, “छोरा, तिमी हामीलाई छोडेर जान चाहन्छौ? तिमी विनाशको बाटोमा हिँडिरहेछौ।” त्यस रात पहिलो पटक सुरजले आफ्ना गल्तीहरू सम्झे। उनले बुझे कि आफूले आफ्नै जीवन मात्र होइन, परिवारलाई पनि पीडा दिएका थिए।
अस्पतालबाट फर्किएपछि उनले सुधार केन्द्र जाने निर्णय गरे। सुधार केन्द्रमा उपचार, परामर्श, ध्यान, र मनोवैज्ञानिक सहयोग पाए। यस क्रममा उनले बुझे कि लागूपदार्थ र रक्सीले क्षणिक आनन्द दिए पनि, दीर्घकालीन रूपमा जीवन बर्बाद गर्छ। लामो संघर्षपछि उनले अन्ततः आफूलाई नयाँ जीवनतर्फ डोर्याए।उनको परिवारले उनलाई फेरि अँगालो हाल्यो। समाजमा पुनःस्थापना हुन समय लाग्यो, तर उनले आत्मबल गुमाएनन्।
सुरजको कथा धेरैका लागि पाठ हुन सक्छ। लागूपदार्थ र मदिराको प्रभाव केवल व्यक्तिलाई मात्र होइन, उसको परिवार, समाज, र सम्पूर्ण भविष्यलाई नष्ट गर्ने खालको हुन्छ। यदि कुनै व्यक्ति यस गलत मार्गमा लागिसकेको छ भने पनि, समयमै सुधार्ने प्रयास गरियो भने जीवन पुनः निर्माण गर्न सकिन्छ। सुधारको ढोका सँधै खुला हुन्छ, आवश्यकता केवल दृढ संकल्पको हो।

प्रतिक्रिया दिनुहोस्