सुर्खेत, १५ असोज । कर्णालीमा बिहिबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहिबार थपिएका कोरोना संक्रमितमा सुर्खेतका ३८ जना, जुम्लाका २२ जना, कालिकोटका १३ जना, दैलेखका १० जना, सल्यानमा ७ जना, मुगुका २ जना र अन्य प्रदेशका १४ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३६५६ पुगेको छ ।
कर्णालीमा बिहिबार बिभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए । ‘कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ३०४२ पुगेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या ४९२ रहेको छ ।’
कर्णालीमा बिहिबार कोरोना संक्रमणका कारणले एक जनाको ज्यान गएको छ । योसँगै कर्णालीका कोरोनाका कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ ।