सुर्खेत, ८ असोज । ५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले ११ नम्बर पिल्लर फेला पारेको हो ।
नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ उनले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला ।’
सीमा प्रहरी चौकी हिल्साभन्दा करिव पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्वर पिल्लर फेला परेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो ।
उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हो ।