मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ। यो सम्मान कार्यक्रम कर्णाली प्रदेशमा आयोजना हुने एकेडेमीको अधिवेशनको अवसरमा आयोजना गरिनेछ। एकेडेमीले यसबाट कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याउने खेलाडी तथा व्यक्तिहरुलाई सम्मान गर्ने योजना बनाएको छ।

एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले पत्रकार सम्मेलनमा यस अधिवेशनको अवसरमा विविध खेलमार्फत योगदान पुर्याउने आठ जना खेलाडी तथा यस सम्बन्धित व्यक्तिहरुलाई सम्मानित गर्ने बताए। उनीहरुलाई मेडल तथा सम्मान पत्र प्रदान गरिनेछ।

उपाध्यक्ष बस्नेतले कर्णालीलाई गरिब र पिछडिएको प्रदेश भनेर हेपिने प्रवृत्तिको अन्त्यका लागि एकेडेमीले काम गर्दै आएको बताए। उनले कर्णालीको आफ्नै मौलिकता र क्षमता रहेको जोड दिए। उनका अनुसार, कर्णालीका युवा तथा खेलाडीलाई खेल क्षेत्रमा अवसर दिइएको खण्डमा सिङ्गो देशकै गरिमा बढाउन सहयोग पुग्नेछ।

यस अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै खेल र खेलाडीसँग सम्बन्धित विविध कार्यक्रमको आयोजना गरिएको छ। एकेडेमीले “सबैका लागि खेलकुद” भन्ने नाराका साथ खेलकुदलाई स्पष्ट दिशाबोध गर्ने उद्देश्यले काम गर्दै आएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीले १५ वर्षदेखि खेलकुद क्षेत्रको दिगो विकासमा क्रियाशिल रहदै आएको छ।

जन नेता स्वर्गीय मदन भण्डारीको विचारलाई आत्मसाथ गर्दै एकेडेमीले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा खेलकुदको विकासमा योगदान पुर्याउदै आएको छ।