सुर्खेत। वीरेन्द्रनगर भित्र पर्ने जुम्ला रोड हाइवे र वीरेन्द्रनगर बजार क्षेत्रका जेब्रा क्रसहरू मेटिएका छन्। यसले गर्दा बाङगेसिमल देखि धुलियाबिट र यरिचोक देखि वीरेन्द्रचोक सम्मको क्षेत्रमा पैदल यात्रुहरूको सुरक्षामा गम्भीर असर पारेको छ। यस क्षेत्रमा आम नागरिक, विद्यार्थी र स्थानीय बासिन्दाहरूको दैनिक भिडभाड निकै बढेको छ। जेब्रा क्रस मेटिएपछि पैदल यात्रुहरूले अनियमित रूपमा सडक पार गर्न बाध्य भएका छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। पहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयले पैदल यात्रुहरूलाई जेब्रा क्रसबाट नै सडक पार गर्न निर्देशन दिन्थ्यो। तर अहिले जेब्रा क्रस नै मेटिएपछि ट्राफिक प्रहरीले पनि यस विषयमा कुनै स्पष्ट निर्देशन दिँदैनन्। यसले गर्दा सवारी साधनहरू तीब्र गतिमा चलाउने र पैदल यात्रुहरू असुरक्षित हुने समस्या बढेको छ।

स्थानीय बासिन्दा भक्त बहादुर पाण्डेले बताए अनुसार, जेब्रा क्रस मेटिएपछि सवारी चालक र पैदल यात्रु दुबैलाई समस्या भइरहेको छ। सवारी साधनको चाप बढेको छ। यस्तो अवस्थामा सम्बन्धित निकायले जेब्रा क्रसको व्यवस्थापन गर्नु आवश्यक छ। यसबाहेक, सवारी चालकहरूले पनि पैदल यात्रुहरू अनियमित रूपमा सडक पार गर्दा एक्कासि रोक्नुपर्ने अवस्था आउने भएकाले दुर्घटनाको जोखिम बढेको बताएका छन्। वीरेन्द्रनगरका मुख्य सडकहरूमा जेब्रा क्रस मेटिएपछि सडक सुरक्षामा ढिलाइ देखिएको छ। पहिले नै अवस्था नराम्रो रहेका जेब्रा क्रसहरू पूर्ण रूपमा मेटिँदै गएपछि पैदल यात्रुहरूले सडक पार गर्न ठूलो समस्या भोग्नुपरेको छ। यस समस्याको समाधानका लागि स्थानीय निकाय र ट्राफिक प्रहरीले तत्काल कदम चाल्नुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन्। उनीहरूले जेब्रा क्रसलाई पुनः स्थापना गरी पैदल यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक वकिल सुनारले जेब्रा क्रस मेटिएपछि सडक दुर्घटना बढेको बताउँछन् ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जेब्रा क्रसको रेखाङ्कनमा ध्यान पुर्याउन जरूरी रहेको बताउँदै यस विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने जोड दिएका छन्। उनले सडक डिभिजन र नगरपालिकाको जिम्मेवारीमा पर्ने यस कार्यमा अहिलेसम्म ढिलाइ भएको बताउँछन्। सुनारले जेब्रा क्रस मेटिएपछि सडक दुर्घटनाको संख्या बढेको बताउँदै नगरपालिका र सडक डिभिजनले यसको लागि टेन्डर खुलाएको तथ्य पनि उल्लेख गरे। तर, यो काम कहिले सम्म पूरा हुने भन्ने बारेमा अझ स्पष्टता छैन। उनले टेन्डर प्रक्रिया लामो हुने र यसबीच दुर्घटना बढिरहेको चिन्ता व्यक्त गरे।

कालिञ्चोकको ठाडो बाटो र दैलेख रोडमा पनि जेब्रा क्रसको मार्किङ आवश्यक रहेको उनले जनाए। सरकारी तर्फबाट यस विषयमा टेन्डर प्रक्रिया अघि बढिरहेको जवाफ आएको बताउँदै उनले यो काम खेलकुद भन्दा पनि अगाडि बढाउनुपर्ने माग गरे।

चालकहरूले पनि जेब्रा क्रस नभएकोले उनीहरूलाई सहजै पार गर्ने ठाउँको अभाव रहेको बताउँछन्। यसबारे सोधपुछ गर्दा उनीहरूले जेब्रा क्रस कहाँ छ, कसरी पत्ता लगाउने भन्ने प्रश्न उठाउँछन्।