
सुर्खेत, — नेपाल उद्योग बाणिज्य महासंघ (FNCCI) कर्णाली प्रदेशको आठौं प्रदेशसभाको उद्घाटन सनिबार सुर्खेतस्थित शुभ होटेलमा भएको छ। दुई दिने यस कार्यक्रममा प्रदेशभरिका उद्योगी, व्यवसायी, तथा सरकारी निकायहरूको सहभागिता रहेको छ। उद्घाटन सत्रको अध्यक्षता FNCCI कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहा प्रमुख अतिथिको रूपमा उपस्थित रहे। कार्यक्रममा FNCCI का पदाधिकारी, सदस्यहरू, विभिन्न उद्योग तथा व्यापार संघका प्रतिनिधिहरू, वस्तुगत समितिका अध्यक्ष, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, साथै पत्रकारहरूको उपस्थिति रहेको थियो।
FNCCI कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले प्रदेशभरिका उद्योग तथा व्यापार क्षेत्रलाई संस्थागत रूपमा मजबूत बनाउने आवश्यकता रहेको बताए। उनले सरकारले व्यापारिक वातावरण सुधार गर्न नीतिगत सुधार गर्नुपर्ने माग राखे।
यस अवसरमा प्रमुख अतिथि मन्त्री शाहाले निजी क्षेत्रको सहभागितालाई प्रदेशको विकासको लागि अत्यावश्यक बताउँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने बताए। उनले आगामी बजेटमा निजी क्षेत्रले दिएका सुझावहरूलाई प्राथमिकताका आधारमा समावेश गरिने पनि जनाए।

कार्यक्रमको क्रममा मन्त्रालयले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम सम्बन्धी निजी क्षेत्रसँग राय र सुझाव संकलन गरेको छ। यस अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकास, औद्योगिक प्रगति, रोजगारी सृजना लगायतका विषयमा आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्