सम्मानको तराजु: जब ‘तँ’ र ‘तपाईं’ बीच वर्ग देखिन्छ । दिपेन्द्र शर्मा

हिजो मैले एउटा रोचक अनुभव गरें, जुन सामान्य लागे पनि गहिरो सामाजिक मानसिकता प्रकट गर्ने खालको थियो। एउटा नेतासँग पत्रकारिताको भेषमा कुरा गर्दा उनले मलाई “सर” भनेर सम्बोधन गरे। हरेक वाक्यमा “हुन्छ सर”, “तपाईं ठीक भन्नुहुन्छ सर” भन्दै शिष्टताको सन्देश दिइरहेका थिए। म त्यही व्यक्ति थिएँ, पहिचान उही थियो, तर मसँग पत्रकारको परिचय थियो। त्यसैले मलाई सम्मान थियो।
आज बिहान अर्कै रूपमा थिएँ — एउटा होटेलमा खाना पकाउने काम गर्ने कुक अनुपस्थित रहेछ, र मैले खाजा पुर्याएँ। नेता ज्यु त्यही थिए। मैले खाना राख्दै गर्दा उहाँले मलाई हेरेर सिधै भने, “तँ यहाँ किन आएको?” म त्यति बेलासम्म केही बोलिनँ, तर मनमा गहिरो चिसो पस्यो।म फेरि उही व्यक्ति थिएँ, न मेरो सोच बद्लिएको थियो, न मेरो आत्मा। फेरिएको थियो त केवल मेरो भूमिका।त्यही पलमा मलाई लाग्यो — पत्रकारितामा पैसा नभए पनि दृष्टिकोणको स्तर अझै बाँकी छ।
एकजना कुकलाई हेर्ने नजर फरक, पत्रकारलाई हेर्ने नजर फरक। हाम्रो समाजले कामको सम्मान होइन, पहिचानको पूजा गर्छ। मान्छेलाई होइन, उसको जर्सीलाई सम्मान गर्छ। हामी कहाँ पुगेर मात्रै बुझ्ने कि सानो ठुलो हैसियत कामको होइन, सोचको हो?कसैलाई “तँ” भन्ने कुरा आफैंमा आपत्तिजनक होइन — आत्मीयताले बोलेको “तँ” र अहंकारले बोलेको “तँ” बीच गहिरो भिन्नता हुन्छ। तर नेताज्यूको जस्तै सम्बोधन तब चोट लाग्दो हुन्छ, जब त्यसमा वर्गीय घमण्ड मिसिएको हुन्छ।
जब “तँ” भन्ने शब्द सत्ताको औजार बन्छ, अनि त्यो केवल सम्बोधन होइन, अपमान बन्छ।समाजले सधैं प्रश्न गर्छ — ठूलो को? सानो को? तर हामीले कहिले प्रश्न गर्छौं — इमानदार को? मेहनती को? संवेदनशील को?हामी अझै कुर्दै छौं त्यो दिन — जब एकजना पत्रकारलाई मात्र होइन, एकजना कुकलाई पनि “तपाईं” भनेर सम्बोधन गरिन्छ। जब नेताले भाषणको मञ्च मात्र होइन, भान्साघरमा पनि समानता देख्छन्। अनि जब “मान्छे” शब्द, कामको पहिचानभन्दा अगाडि आउँछ।हामी त्यो दिन कहिले सिक्ने ?
प्रतिक्रिया दिनुहोस्