कर्णाली प्रदेश अस्पतालमा सार्वजनिक सम्पत्तिमा हिनामिना भएको भन्दै लेखा अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकामध्ये अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाई कार्यक्रम अन्तर्गत कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर रहेका छन्।

उनीहरूलाई अनधिकृत रूपमा स्वास्थ्य बीमा शाखाको नामदर्ता काउन्टरबाट बिलिङ काउन्टरमा प्रवेश गरी बीमितहरूको बिलिङ गरेको, र त्यसबाट संकलन भएको रकम अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा जम्मा ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसा राजस्व संकलन भएकोमा मात्र ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्रै अस्पतालको खातामा दाखिला गरिएको थियो। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।