सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झन्डै सवा घन्टा छलफल भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरूले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्ष दाहालले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीको समर्थनमा मुख्यमन्त्री शाहीविरुद्ध यस्तो रणनीति अघि बढाइएको बुझाइ अध्यक्ष दाहालको रहेको छ ।

तर, ओलीले भने आफ्नो समर्थनमा यस्तो नभएको बताएका थिए ।

स्रोतका अनुसार दाहालले ओलीलाई यस्तो अनुरोध गरिरहँदा ओलीले भने प्रस्ट जवाफ दिएनन् ।

अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपालनिकट सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेश नेकपामा सांसदहरूले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ ।

प्रदेशमा नेकपाको कुल ३३ सिट रहेको छ । जसमध्ये २० सिट पूर्वएमाले, १३ सिट पूर्वमाओवादी समूहको छ । पूर्वएमालेमध्ये ओलीनिकट १२ र नेपालनिकट आठ सांसद रहेका छन् ।

पूर्वमाओवादी समूहमा बादलनिकट तीनजना रहेका छन् भने बाँकी प्रचण्डनिकट छन् ।

अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसदमध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन राखिएको प्रस्तावमा हस्ताक्षर गर्ने समूहले दुई मन्त्री र संसदीय दलका प्रमुख सचेतकको समेत समर्थन रहेको दाबी गर्दै आएका छन् ।