१४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।जिल्ला आएका कलाकारहरुलाई बुधबार भव्य स्वागत गरिएको छ । यस अवसरमा जिल्लावासीहरुले १४ वटै देशको झण्डा फहराएर विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए ।आज (बिहीबार)बाट कलाकारहरुको यात्रा सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको प्रमुख भट्टराईको भनाइ छ ।