सुर्खेत। जाजरकोट सदरमुकाम खलंगाबाट विभिन्न रुटमा चल्ने गाडीहरुले चर्को भाडा लिएको सम्बन्धमा जिल्लाबासीको गुनासो आएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई भाडादर समायोजन गर्न निर्देशन दिएका छन्।

मन्त्री शाहले खलंगाबाट रिम्ना, चिसापानी, दल्ली हुँदै तल्लोबगर, खलंगादेखि पाँचकाटिया र खलंगादेखि पश्चिम क्षेत्रसम्म चल्ने गाडीहरुमा चर्को भाडा लिएको गुनासोको आधारमा सिडियोलाई सबै सरोकारवालासँग परामर्श गरेर उपयुक्त भाडादर निर्धारण गर्न निर्देशन दिए।

“वर्षाको समय भनेर यातायात व्यवसायीले यात्रुसँग अस्वभाविक भाडा लिएको गुनासो जाजरकोटबासीले गरिरहेका छन्,” मन्त्री शाहले भने, “सरोकारवाला सबैसँग छलफल गरेर उपयुक्त भाडादर कायम गर्नु होला।”

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले चाँडै नै सर्वपक्षीय छलफल गरी उपयुक्त भाडादर निर्धारण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यात्रुहरुले तल्लोबगरदेखि खलंगासम्म २ हजार रुपैयाँ भाडा लिने गरेको र अन्य छोटो दुरीमा पनि कम्तिमा पाँच सयदेखि माथि नै भाडा लिने गरेको गुनासो गरेका छन्।