सुर्खेत, २३ भदौ । जाजरकोटको बारेकोट गाउँपालिका ६, धुमामा मान बहादुर चलाउनेको घर पहिरोले पुरिएको छ। गएराति आएको पहिरोले चलाउनेको घर पुरिँदा मानवीय क्षति भएको आशंका गरिएको छ।

घटनास्थलमा रामीडाँडा, नायकबाडा, र सेपुखोला क्षेत्रबाट प्रहरी खटाइएको जाजरकोटका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार, घटनास्थलमा फोन सम्पर्क नलाग्ने भएकाले थप विवरण प्राप्त हुन बाँकी छ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रभात चलाउनेका अनुसार, मान बहादुर चलाउनेको घरमा तीन जनाको परिवार रहेको थियो। पहिरोले छिमेकमा अन्य घरहरू पनि क्षतिग्रस्त भएको हुनसक्ने सम्भावना रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।