सुर्खेत। नलगाड नगरपालिका –४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन्। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा आयोजित यस शिविरले स्थानीयवासीलाई पहिलो पटक यस्तो सुविधा पुर्याएको हो।

वडा अध्यक्ष बर्दी पन्तका अनुसार, वडाको पहलमा शिविर सञ्चालन हुँदा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले प्रत्यक्ष लाभ पाएका छन्। उनले भने, “वडाको पहलमा कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ।” कार्यक्रमका सामुदायिक संयोजक निर्मला सुनारले पनि ८६ वर्षीया आमाले सेवा लिन पाउँदा आफूलाई धेरै खुशी लागेको बताइन्। उनका अनुसार, स्थानीय जनताको ठूलो सहयोग र वडाको सहकार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

८६ वर्षीया विष्णु रावलले शिविरमा आफूलाई मोतिविन्दुको समस्या भएको पत्ता लागेको बताइन्। उनले भनिन्, “म हिँड्न नसक्ने अवस्थामा थिएँ, र शिविरमा दुवै आँखामा मोतिबिन्दु भएको थाहा पाएँ।” शिविरमा मोतिविन्दुका बिरामीहरूको अपरेशन दल्लीमै गरिने जानकारी नेपाल नेत्र ज्योति संघका निरीक्षक डाक्टर टंक हमालले दिए।

उनले दृष्टि क्षमता जाँच, आँखामा एलर्जी, मोतिबिन्दु, र आँखाको सुख्खापनको समस्या भएका बिरामीहरूको पनि उपचार गरिएको जानकारी गराए। शिविरले स्थानीयवासीलाई अत्यन्त आवश्यक सेवा पुर्याएको र भविष्यमा पनि यस्ता कार्यक्रमले वडालाई लाभ पुर्याउने विश्वास स्थानीय नेताहरूले व्यक्त गरेका छन्।