सुर्खेत – मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण कार्य पुनः अध्ययन गरी अघि बढ्ने भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि यसअघि तयार गरिएको केबल स्पेयड सस्पेन्सन डिजाइनले व्यवहारिक चुनौतीहरू निम्त्याएपछि नयाँ सम्भाव्यता अध्ययन थालिएको हो।

मध्यपहाडी लोकमार्ग आयोजनाका कायममुकायम निर्देशक रविन्द्रलाल दासका अनुसार, अध्ययनका लागि पुलचोक इन्जिनियरिङ क्याम्पसको टोली आउने तयारीमा छ। “पुनः अध्ययनबाट ट्रस्ट ब्रिज बनाउन उपयुक्त देखिएमा तत्परताका साथ काम अघि बढाइनेछ,” उहाँले बताउनुभयो। नयाँ योजना अनुसार, निर्माण कार्य १८ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

निर्देशक दासका अनुसार, ट्रस्ट ब्रिज बनाउन आवश्यक सामग्री नेपालमै उपलब्ध हुने भएकाले आयातको झन्झट नहुने र अध्ययन प्रतिवेदन आएलगत्तै निर्माण कार्य अघि बढाइने छ। “सामान तयारी र स्थलमा ल्याइपुग्न समय लागे पनि जडानको काम २–३ महिनामै सकिन्छ,” उहाँले थप्नुभयो।

पुल निर्माणको वर्तमान अवस्था

२०७६ सालमा वाइपि कन्स्ट्रक्सन प्रालिले १३ करोड ४७ लाखको ठेक्का लिए पनि ३० प्रतिशत मात्र काम सम्पन्न गरी पुल अलपत्र छाडेको थियो। ठेक्का रद्द गरिएपछि दुई पटक टेन्डर आह्वान गरिएको भए पनि निर्माण व्यवसायीहरूको चासो नदेखिँदा काम अघि बढ्न सकेन।

पुल निर्माण स्थलको हालैको अनुगमनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, र आयोजना कार्यालयका निर्देशक दासको टोलीले समस्या समाधानमा जोड दिएको छ।

स्थानीय र जनप्रतिनिधिको आवाज

प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले पुल निर्माणमा व्यवसायीको लापरबाही र प्राविधिक समस्याले स्थानीय जनतालाई प्रत्यक्ष मारमा पारेको बताउनुभयो। “हामीले दबाब दिएका कारण ठेक्का रद्द र नयाँ टेन्डर आह्वान भए पनि व्यवसायीहरू स्टामेट हेरेर निर्माण अघि बढाउन डराइरहेका छन्। अब डिजाइन परिवर्तन गरेर भए पनि पुल निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो।

राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजनामा यस्तो ढिलाइ हुनु लज्जास्पद भएको भन्दै पुलको तत्काल निर्माणमा जोड दिनुभयो। स्थानीय जनप्रतिनिधिहरूले पटकपटक अनुगमन भए पनि काम सुरु नभएकामा असन्तोष व्यक्त गर्दै दबाब जारी राख्ने बताएका छन्।