जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। नलगाड नगरपालिकामा उपप्रमुख र कुशे–७ मा वडा अध्यक्षका लागि उपनिर्वाचन सम्पन्न गर्न आज बिहानैदेखि मतदान प्रक्रिया सुरु भएको हो।

कुशे गाउँपालिकाका २ र नलगाड नगरपालिकाका २४ मतदान केन्द्रमा मतदान उत्साहजनक रुपमा भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म नलगाड नगरपालिकामा ९,७०४ मत खसेको छ भने कुशे–७ मा ९४८ मत खसेको जानकारी प्राप्त भएको छ।

मतदानका लागि नलगाड नगरपालिकामा कुल १६,४४९ र कुशे–७ मा १,३०२ मतदाता छन्। यसरी कुल १७,७५१ मतदातामध्ये हालसम्म नलगाडमा ५९ प्रतिशत र कुशे–७ मा ७३ प्रतिशत मत खसेको छ।

हालसम्मको मतदाताको उपस्थिति हेर्दा कुशे–७ मा नलगाड नगरपालिकाभन्दा बढी मतदान भएको देखिन्छ। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाकर्मीको बाक्लो उपस्थितिका साथै निर्वाचन अधिकृतको टोली सक्रिय रहेको छ।