जाजरकोट — नलगाड नगरपालिका–७, दल्ली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको खानेपानी अभाव तथा फोहोर व्यवस्थापनको समस्याप्रति स्थानीय युवाहरुले गम्भीर ध्यानाकर्षण गराएका छन्। । त्रिवेणी युवा क्लबले नगर प्रमुखलाई पत्र लेख्दै उक्त समस्याको दीर्घकालीन समाधान गर्न माग गरेको हो।

क्लबका अनुसार यस क्षेत्रमा नियमित रूपमा स्वच्छ खानेपानी उपलब्ध नहुँदा स्थानीय बासिन्दाहरुको दैनिक जीवन प्रभावित भएको छ। त्यस्तै, उचित फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण बढ्दै गएको र यसले मानव स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको जनाइएको छ।

समस्याको समाधानका लागि क्लबले विभिन्न मागहरु अघि सारेको छ। जसअनुसार काल्लागे र नुनेपहिराको खानेपानीलाई सबै टोल तथा बस्तीमा पारदर्शी र व्यवस्थित तरिकाले वितरण गर्नुपर्ने, प्रत्येक घर, होटल तथा सार्वजनिक स्थानमा धारा सहितको खानेपानी व्यवस्था १५ दिनभित्र गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, स्थानीय तह सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि फोहोर व्यवस्थापन प्रभावकारी नभएको भन्दै उचित स्थानमा डम्पिङ साइट निर्माण गर्न, नियमित फोहोर संकलनका लागि आवश्यक सवारी साधन ट्याक्टर वा टिप्पर व्यवस्था गर्न पनि माग गरिएको छ।

क्लबले सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई ५०० देखि ५००० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने समेत सुझाएको छ।

त्रिवेणी युवा क्लबका पदाधिकारीहरूले हस्ताक्षर सहित बुझाएको उक्त पत्रमार्फत स्थानीय सरकारले शीघ्र पहल नगरे समस्या झनै जटिल बन्ने चेतावनी दिएका छन्। ।