राप्रपा र राप्रपा संयुक्त एकीकरणपछि अहिले चुनाव चिन्हका बिषयमा पुनः बहस शुरु भएको छ । पार्टीको विधान नाम, झण्डा, चिन्ह त्यतिबेला नै (२०७४) महाधिवेशनमा स्वीकार गरिसकेको विषय हो ।
महाअधिवेशनमा हिन्दु राष्ट्र राजसंस्था भनेर नै विधानमा उल्लेख गरिएको छ । विधानमा हिन्दु राष्ट्र र राजसंख्या बिषयमा उल्लेख गर्ने व्यवहारमा हिन्दु राष्ट्र र राजसंस्था विपरित हुने चुनाव चिन्हका ल्याउने निति अबलम्बन गरेको आभाष पाइन्छ ।
चुनाव चिन्ह गाई राख्ने कि हलो राख्ने भन्ने बिषयका कारणले गर्दा पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया टुंगोमा पु¥याउन सकेको थिएन् । यसै बीचमा राप्रपा र राप्रपा संयुक्त वीच पार्टी एकता हुनुअघि राप्रपात्रय (थापा, राणा र लोहनी) अध्यक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा चुनावचिन्ह ६ महिनाभित्र टुंग्याउने उल्लेख छ । यही विवादलाई टुंग्याउन राप्रपाले ६ सदस्यीय सुझाव समिति गठन गरेको थियो । त्यही ६ सदस्यीय सुझाव समितिले राप्रपामा हलो चुनाव चिन्ह राख्ने निर्णय गरेको छ ।
राप्रपात्रय मिलेर हलो चुनाव चिन्ह राख्ने निर्णय भइसकेको छ । तिन वर्ष अगाडी भएको पार्टी एकिकरणमा चुनाव चिन्ह गाई राख्ने निर्णय भएको थियो । तर, चुनावमा पार्टी विभाजन गरेर आफ्नो आफ्नो चुनाव चिन्हमा चुनाव लडे । पार्टीको नीति एजेण्डा एउटा बनाउने अनि चुनाव लड्दा राप्रपात्रयहरु पार्टी बिभाजन गर्ने काम हुँदै आएको छ । पार्टी एकता भनेको नेतात्रयको मन मिलेर मात्र हैन् । तल रहेका लाखौ कार्यक्रताको भावना र मन मिलाउन जरुरी छ । अहिले पार्टी एकिकरण गर्दा नेतात्रय मिलेर गरेका छन् । तल्ला कमिटीमा रहेका लाखौं कार्यक्रताको मन मिलाउन सक्नु भएको छैन् ।
विगतमा भएको पार्टी एकिकरणलाई निर्वाचनका बेला किन बिभाजन गर्नुभयो ? फरक फरक झण्डा र चुनाव चिन्हमा चुनाव किन लड्नु भयो ? अहिले आएर उल्लेख्य के परिवर्तन भयो ? चुनाव चिन्ह हलो राख्ने निर्णय किन भयो ? चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने विषयको आधार निर्माण भयो भन्ने कुराको कतैवाट गहन चिन्तन गर्नु भएको छैन् । तिन जना वरिष्ठ नेताहरु मिलेर चुनाव चिन्ह बनाउन भएको छ । यस बिषयमा तल्ला कमिटीमा रहेका लाखौ कार्यक्रताहरुलाई न केही जानकारी दिनुभएको छ न सुझाव लिनुभएको छ । पार्टी एकिकरण गर्ने भनेको पार्टीको सिद्धान्त विचार, आस्थालाई जनताको साथ लैजादा जनताले स्विकार्ने एउटा आधार स्तम्भमा नै प्रहार गर्दा पार्टी एकता कतै नियोजित वा निति नेतृत्व कमजोर पार्ने एउटा अस्त्रको रूपमा पो थियो कि भनि आम हिन्दुवादी राजावादी राष्ट्रवादी नेपालीले वुझ्ने अवस्था आउन सक्छ ।
राप्रपा नेपालको जन्म यस्तो विषम परिस्थितिमा भएको थियो । जसले देशलाई एकताबद्ध गर्ने र देशको दिगो विकासमा ध्यान दिएको थियो । अहिले राप्रपाको नेतात्रयहरु तिनतिर फर्किएको अवस्थामा रहेका छन् । हिन्दुवादी, राजावादी, राष्ट्रवादी नेपालीले नेतात्रयको कार्यशैली प्रति सन्तुष्ट हुन सकेका छैनन् । राप्रपाको एकिकरणलाई बचाउने हो भने जनता, कार्यक्रता सुझाव अतुलनिय हुन्छ । हाम्रा नेतात्रयहरुले जनता कार्यक्रताको भावना र सुझाव लिन सक्नु भएको छैन् । न त नेतृत्व पुस्तारण गर्न सक्नुभएको छ । वहाँहरु तिन जना मिलेर जे मन लाग्यो त्यही गर्ने अवस्था रहेको छ ।
अब रह्यो चुनाव चिन्हको कुरा, राप्रपामा चुनाव चिन्ह के राख्ने भन्ने बिषयमा जिल्ला र नगर कमिटीसम्म बहसमा नल्याएपनि वहाँहरुले केन्द्रीय कमिटीमा बैठक राखेर त्यसमा मतदान गराएर चुनाव चिन्ह के राख्ने भन्ने बिषयमा बहस गराउन आवश्यक रहेको थियो । लोकतान्त्रिक बिधिबाट केन्द्रीय समितिमा मतदान गराएर चुनाव चिन्ह राख्न सकिन्थ्यो ।
राप्रपाको २०४६ सालमा चुनाव चिन्ह हलो नै थियो । त्यो बेला किसान र मजदुर बढी भएका कारणले चुनाव चिन्ह हलोलाई आम नेपालीले रुचाएका पनि थिए । लोकप्रिय पार्टी पनि बनेको थियो । २०६२/०६३ को जनआन्दोलनपछिको अवस्था त्यो रहेन् । परिस्थिति बदलियो । हिन्दुवादी, राजावादी, राष्ट्रवादी नेपालीहरुले गाई चुनाव चिन्हलाई अत्याधिक मन पराए । लोकप्रिय पार्टी र चुनाव चिन्हका रुपमा जनताले राम्रो मत दिएर जिताए ।
अहिलेको अवस्थामा नेता, कार्यक्रता र जनताको मन, भावनाको कदर गर्दै गोलो आकारको चिन्ह भित्र हलो र गाई चुनाव चिन्ह राख्न सकिन्थ्यो । त्यसले नेता, कार्यक्रताको भावनाको कदर हुने पार्टी एकिकरणको भावना समेटिने थियो । पार्टीका नेताहरुलाई पनि ‘विन विन’ अवस्थामा ल्याउन सकिन्थ्यो ।
जे होस, अहिलेका अवस्थामा संयमित तरिकाले पार्टी एकतालाई मजवुत पार्ने र कसैलाई उत्तेजित नपार्ने, अनावश्यक दवाव श्रृजना नगर्ने, नगराउने काम राप्रपाको सबै तह, तप्का लाग्न हुन जरुरी छ ।