सुर्खेत, १२ असोज । कोरोना भाइरसका कारणले क्वारेन्टिनका रुपमा प्रयोग भएका कर्णालीका हिमाली तथा पहाडी जिल्लाका जिल्लाका विद्यालयहरुमा पठन पाठन शुरु भएको छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, डोल्पा, दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिमका केही विद्यालयहरुमा भदौ अन्तिम सातादेखि पठन–पाठन शुरु भएको हो ।
कर्णालीका अधिकांस विद्यालयहरुलाई ५ महिनासम्म क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो ।
लामो समयदेखि बन्द रहेका विद्यालयलाई असोज १ गतेबाट नियमित संचालनमा ल्याएको कालिकोट पचालझरना गाउँपालिका–५ बाझकोट ज्ञानदोय माध्यमि विद्यालयका प्रधानाध्यापक ममराज सेजुवालले बताए । ‘लामो सयमदेखि बन्द रहेका विद्यालयहरुलाई पुनः नियमित संचालनमा ल्याएका छौं ।’ उनले भने,‘विद्यालयमा बन्द रहँदा विद्यार्थीको पढाईमा अन्यौल थपिएको थियो ।’
हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरुमा पठन–पाठन सुरु भएको छ । उत्तरी नाम्खा र दक्षिणतिरका खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका गरि ५१ विद्यालयमा साउन अन्तिम सातादेखि पढाइ सुरु भएको हो ।
लामो समयको बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठन–पाठन सुरु भएको ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए ।
मुगु जिल्लामा पनि ६ महिनापछि पठनपाठन सुरु भएको छ । मुगुका चार वटा स्थानीय तहले कोरोना संक्रमण नदेखिएको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले असोज १४ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए ।
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका र भगवतीमाई गाउँपालिकाले पनि पठनपाठन सुरु गरेका छन् । थोरै विद्यार्थी भएको स्कुलमा सामाजिक दुरी कायम गर्ने र धेरै विद्यार्थी भएको स्कुलमा आलोपालो गरेर पठनपाठन सुरु गरिएको चामुण्डा विन्द्रासैनी शिक्षा शाखा प्रमुख नवीन शाहीले बताए ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको अम्मरज्योति माध्यमिक विद्यालय नेवारेले आवश्यक सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरेको छ ।
प्रशासन विद्यालय खोल्ने निर्णय छैन, कसरी पढन पाठन गर्न सकिन्छ भनेर अभ्यास गरेको प्राधानाध्यापक खगेन्द्र थापाले बताए ।
विद्यालय सञ्चालन गर्ने अनुमति दिए कक्षा ९ र १० मा थोरै विद्यार्थी राखेर पठनपाठन सुरु गर्न सकिने प्राधानध्यापक थापाले जानकारी दिए ।
सल्यानमा १ सय ५५ विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन निमार्ण गरिएको जिल्ला जिल्ला शाखा सल्यानले जनाएको छ ।
सल्यानको कुमाख गाउँपालिकाका २१ वटा विद्यालय क्वारेन्टाइनका बनाएको र ती विद्यालयमा निमार्ण भएका क्वारेन्टाइन हटाएर निर्मलीकरण गर्दै आइरहेको कुमाख गाउँपालिका सूचना अधिकारी प्रकाश भण्डारीले बताए । ‘निमुलीकरण गरेर विद्यालय संचालन गर्ने तयारी थालेका छौं ।’ उनले भने,‘अबका केही दिनमा सबै विद्यालय संचालन गर्छौं ।’