सुर्खेत । आधा महिनादेखि जुम्लाको सदरमुकाम चन्दननाथमा विद्युत् आपूर्ति अबरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा जुम्लाबासीले प्रत्येक दिन बेलुका सडकमा दियालो बालेर उज्यालोको खोजी गर्ने गरेका छन् ।

तत्काल विद्युत् आपूर्तिको व्यवस्था मिलाउन माग गर्दै जुम्लाबासीले सडकमै दियालो बालेर संघर्षका कार्यक्रम अघि बढाएका हुन् । लामो समयदेखि सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै विद्युत् आपूर्तिको माग गर्दै संघर्षका कार्यक्रम सुरु गरेका हुन् ।

प्रत्येक दिन चन्दननाथ नगरपालिका– ५ को बालमन्दिर नजिकै दियालो बालेर सरकारको ध्यानाकर्षण गराएको विद्युत् आपूर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । ‘आजको युगमा पनि हामीले बिजुली बत्ती बाल्न नपाउनु दुर्भाग्य हो’, उनले भने, ‘देश एक्काइसौँ शताब्दी भएको भाषण गर्ने नेताले जुम्लामा विद्युत् नभएको कुरा थाहा पनि छैन् होला रु’

जुम्लाका रहेको साना जलविद्युत आयोजनामा संचालिन विद्युतका मेसिन बिग्रिएको छन् । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट खरिद गरिएको डिजेलप्लान्ट र नेपाल विद्युत् प्राधिकरणले पठाएको डिजेलप्लान्टबाट भए पनि बिजुली नियमित हुन सकेको छैन् ।