सुर्खेत । चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तीव्र पारिने भएको छ । चाडपर्वको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, ठगी, कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमन चुस्त पारिएको वीरेन्द्रनगर नगरपालिकाले बताएको छ ।

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको संयोजत्वमा मंगलवार वीरेन्द्रनगरमा बसेको बैठकले बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४ माथि छलफल गर्दै उपभोक्ता हित संरक्षणका लागि कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरेको हो । बैठकले खाद्यान्न, तरकारी, मासु, दूध, मिठाई, लत्ताकपडा लगायतका पसलको अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख ढकालले जानकारी दिइन् । नियम विपरीत कार्य गर्दै आएका व्यवसायीलाई सचेत गराउँदा समेत उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्नेलाई तत्कालै कारबाहीको दायरामा ल्याइने उनले बताइन् ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य भीमकुमारी भुसालले बजार अनुगमन निर्देशिका २०७४ पालना नगर्ने व्यापारीलाई पालिकाहरूद्वारा गठित अनुगमन समितिले चेतावनी दिएर छाड्ने परम्परागत चलन नै दोहोर्‍याउँदा बजार अनुगमन प्रभावकारी हुन नसकेको जिकिर गरिन् । बजारमा कालाबजारी गर्नेले प्याज प्रतिकिलो २५० रुपैयाँ पुर्‍याउँदा समेत कारबाही नहुँदा उपभोक्ता मारमा परेको उनले बताइन् ।

‘झारो टार्ने हिसाबले अनुगमन गर्नुको कुनै औचित्य हुँदैन । अनुगमनको क्रममा गल्ती भेटिएका पसललाई पालिकाको निर्देशिकामा उल्लेख भएबमोजिम दण्ड तथा जरीवाना तोकेर कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘संघीय संरचनाअनुसार बनेको निर्देशिका बमोजिम स्थानीय तहबाट हुने गरेको बजार अनुगमन काम देखाउने, बजेट सक्ने र समाचार बनाउनेबाहेक उपभोक्ताको हितमा उपलब्धिमूलक काम भएको देखिँदैन ।’