सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा बढेको विवाद मिलाउन काठमाडौं पुगेका कर्णाली नेताहरु फिर्ता हुने भएका छन् । केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसकेपछि मुख्यमन्त्री शाहीसहितको टोली कर्णाली फर्किन लागेको हो ।
भोली असोज ७ गते कर्णाली प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक सीता नेपाली राखेको संसदीय दलको बैठकमा उपस्थित हुनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षीय नेताहरु कर्णाली फर्किन लागेका हुन् ।
अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्ताव फेस गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।
‘भोली ७ गते ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ ।’ नेकपा संसदीय दलका सचेतक कुर्मराज शाहीले भने,‘अब मुख्यमन्त्रीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई फेस गर्नुहुन्छ ।’
सचेतक शाहीले अविश्वासको प्रस्ताव पेश गर्ने ७ जना सांसदले दलका नेता तथा मुुख्यमन्त्री शाही विरुद्ध पेश अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए । ‘अविश्वासको प्रस्ताव पेश गर्ने समूह अहिले अल्पमतमा परेको छ ।’ उनले भने,‘अविश्वासको प्रस्ताव पेश गर्ने मलगाएतका ७ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका छौं ।’
आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड निकट शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन् । उक्त सहमति अनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ । नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ ।
अबैधानिक प्रमुख सचेतकले बोलाएको बैठकमा उपस्थित हुँदैनौः शाह
मुख्यमन्त्री शाहीले संसदीय दलको प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाहले दलको प्रमुख सचेतक सिता नेपालीले बोलाएको बैठकमा उपस्थित नहुने बताएका छन् । ‘हामी अबैधानिक प्रमुख सचेतकले बोलाएको बैठकमा अपस्थित हुँदैनौं ।’ उनले भने,‘भोली संसदीय दलको बैठक बोलाएको बारे जानकारी नै छैन् ।’
बिहिबार अध्यक्षद्वय बीच भएको सहमति अनुसार अगाडी बढ्ने त्यसको उल्लघन कसैले गर्न नपाउने शाहले बताए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रमुख सचेतक नहटाउने, नेपाली साविककै सचेतक पदमा रहने, अन्य बिषय समझदारीमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजकको नोट आएको छ ।’ उनले भने,‘अब त्यही आधारमा अगाडी बढ्छ ।’