सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उद्योगमा लगानी बढाउनका लागि व्यवसायीहरुलाई आग्रह गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले आयोजना गरेको छैटौ राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न अन्तक्रिया तथा दिप प्रज्वलन कार्यक्रममा मन्त्री बुढाले उद्योगमा लगानी बढाउन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । मन्त्री बुढाले बजेटको कमीका कारणले कर्णाली प्रदेश सरकारले ठुला उद्योग स्थापना गर्न नसकेको सरकारी, निजी सहकारीको माध्यमबाट कर्णालीका उद्योग स्थापनाको संम्भावना रहेको बताए । ‘कर्णालीका सबै जिल्लामा औधोगिक ग्रामको स्थापना गर्ने गरी काम थालेका छौ । तर, कर्णालीमा स्रोत साधान प्रयाप्त भएपनि बजेटको कमिले ठुला उद्योग सञ्चालन गर्न सकिएको छैन’ उनले भने, ‘अब लगानीकर्तासँग समन्वय गरी ठुला उद्योग व्यवसायमा लगानी बढाउने छौं । तर साना उद्योग सञ्चालनका लागि अनुदानका कार्यक्रम सञ्चालन भईरहेका छन् ।’ उद्योग स्थापनाका लागि प्रदेश सरकारले आवश्यक बजेट सहुलियतमा ऋण तथा अनुदान स्वरुप व्यवस्था गर्नसके कर्णाली परनिर्भर र बेरोजगारी समस्या छिट्टै अन्त्य हुने व्यवसायीको दावी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले उद्योग व्यवसायीको सुझाब सल्लाहका आधारमा कर्णालीमा औधोगिक क्षेत्रलाई व्यवस्थित बनाउन पहल भइरहेको बताए ।

कर्णाली प्रदेशमा औधोगिक व्यवसाय प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव सेरबहादुर श्रेष्ठले बताए । ‘प्रदेश सरकारले चालु आर्थिक वर्षमा भोकमारी, माहामारी र बेरोजगारी समस्यालाई ध्यानमा राखि उद्योग व्यवसायमा लगानी बढाउने रणनीति अपनाएको छ ।’ उनले भने,‘सरकारले साना ठुला तथा मझौला खालको उद्योग स्थापना गर्ने सबैलाई प्रोहोत्सान सरकारले गर्छ ।’ सुर्खेतका उद्योग व्यवसायीहरुले उद्योगमा लगानी बढाउन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । उद्योग व्यवसाय बिना रोजगारी सृजना र प्रदेश सरकारको अर्थतन्त्र बलियो नहुने भन्दै उद्योगमा लगानी बढाउन व्यवसायीहरुले प्रदेश सरकारसँग माग गरेका हुन् । स्थानीय उत्पादनलाई बृद्धि गरी आयातित वस्तुलाई रोक्न कर्णालीमा ठुला उद्योगको आवश्यक रहेको उद्योगी लक्ष्मी उपाध्यायले बताइन् । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउन आवश्यक रहेको छ ।’ उनले भनिन्,‘कर्णालीमा विद्यमान बेरोजगारी अवस्थाको अन्त्य गर्न र प्रदेश सरकारको अर्थतन्त्रलाई बलियो बनाउन ठुला उद्योगमा लगानीको खाँचो छ ।’ कार्यक्रममा सहभागी अधिकांश उद्योग व्यवसायीले ठुला उद्योग संचालनमा लगानीको खाँचो अन्य उद्योगी तथा व्यवसायीहरुले बताएका थिए ।