सुर्खेत । रुकुम पश्चिम प्रदेश राजधानी वीरेन्द्रनगरसँग सडक सञ्जालमा जोडिएको छ । सानीभेरी नदीमाथि मोटरेबल पुल बनेसँगै सवारी साधन सुर्खेत जाने बाटो खुलेको हो ।
सानीभेरी गाउँपालिका–८ र ३ नम्बर वडा जोड्ने गरी बनेको यो पुलबाट अब छोटो र सजिलो बाटो भएर प्रदेश राजधानी सुर्खेत पुगिनेछ । ढिलै भए पनि पुल निर्माणको मुख्य काम सकिएपछि एक महिनायता सवारी साधन वारपार गरिरहेको सानीभेरी गाउँपालिका–३ का अध्यक्ष बिर्खबहादुर विष्टले बताए । उनका अनुसार पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ । पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १ सय ६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने उनले जानकारी दिए । यो पुल नबन्दा सल्यान भएर ३ सय ४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।
उक्त पुल ५ वर्षअघि नै बन्नुपर्ने हो । तर निर्माण कम्पनीको लापरबाहीले ३ पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको थियो । पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडासमेत जोडेको छ । आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको वडाध्यक्ष विष्टले बताए । उनका अनुसार सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन् ।