काठमाडौँ — भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ ।

सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् ।

मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै व्यंग्य पनि गरेका छन् । ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ‘उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’

भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ‘कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?’

दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । ‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,’ उनले थपे, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।’

रअ प्रमुखसँग प्रधानमन्त्रीले राति सुटुक्क भेट्ने कुरा मिलेन ः रावल
गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो । प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले त्यलाई अपारदर्शी भन्न नहुने ज्ञवालीको तर्क थियो ।

गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको भ्रमण भएकाले रिजल्ट आएकोतर्फ ज्ञवालीले संकेत गरेका हुन् । गोयलले भ्रमण गरेर फर्किएपछि भारतीय सेनाध्यक्ष नरवणे र विदेशसचिव श्रृंगला नेपाल आएका थिए ।