सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति भएको आगलागीमा परि १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो ।

चिसो भएका कारण न्यानो बनाउनका लागि पृथ्वीबहादुर शाहीको घरमा राति आगो ताप्न परालबाट आगो बालेको अवस्थामा आगो फैलिएर आगलागी भएको हो ।

आगलागीमा १२ वर्षीया शर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइते शर्मिलालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कालिकोट महावै गाउँपालिका– ६ स्थित कुनी नजिकको तिला कर्णाली नदीको छेउमा पुरुष वा महिला समेत छुट्याउन नसकिने अवस्थामा वेवारिशे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।