सुर्खेत ।
सुर्खेत प्रतिनिधि सभा–२ प्रदेश सभा (ख) का प्रत्यक्ष तर्फका उम्मेदवार मोहन बडुवालले आफू सबैको साझा उम्मेदवार रहेको बताउँदै निर्धक्क आफूलाई मत दिन आव्हान गरेका छन् ।

बुधबार चौकुने गाउँपालिका वडा नं. ३ बेतानमा भएको चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै उम्मेदवार बडुवालले चुनाव चिन्ह ‘कलम’ प्राविधिक विषय भएता पनि पश्चिम् सुर्खेतको समग्र विकास तथा समृद्धिका लागि आफ्नो उम्मेदवारी साझा रहेको प्रतिक्रिया दिए ।

आफु गठबन्धन दल भित्रकै उम्मेदवार भएको र कोहि कसैको डर, धाक,धम्की तथा त्रास बाट विचलित नभई निर्धक्क भएर प्रदेश सभा सदस्य पदका लागि कलम चिन्हमा मतदान गर्नु हुन सबै मतदाता तथा शुभचिन्तकहरुलाई आह्वान समेत गरे ।

विगतमा यश क्षेत्रमा नेकपा एमाले पार्टी बनाउन आफ्नो पसिना मात्र होइन रगत समेत बगेको इतिहास स्मरण गर्दै बडुवालले न्याय र यश क्षेत्रको प्रतिष्ठाका लागि भएपनि आफुले चुनाव जित्दै पर्ने दबाब रहेको धारणा राखे ।

सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी भए पनि पश्चिम् सुर्खेत विकासका सन्दर्भमा सधै पछाडि छ । अब यश क्षेत्रको उन्नति, प्रगति तथा समृद्धिका लागि आफुले रातदिन नभनी जनताको सेवकका रूपमा विकास निर्माणका कार्यहरुमा सहभागी हुने उनले प्रतिबद्धता समेत जनाए ।