काठमाडौं । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण चालिसेसहित तीन जना जुवाखालबाट पक्राउ परेका छन । भदाै २५ गते सोमबार राति चालिसेसहित तीन जना पक्राउ परेका हुन । पक्राउ परेका चालिसे गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । उनी एमालेको विदुर नगरकमिटीका सदस्य समेत हुन ।

प्रहरीले उनीहरूको बारेमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । चालिसेको मोइबालमा सम्पर्क गर्दा मोबाइल अफ गरिएको सूचना पाइएको छ । उनी निकटकाहरूले भने उनी व्यवसायका लागि भारत गएको बताएका छन ।

नुवाकोट विदुरका चालिसेसँगै नुवाकोटकै दिपेन्द्र पाैडेल र धादिङका सञ्चजय सिलवाल पनि जुवाखालबाट पक्राउ परेका छन । विशेष सूचनाका अधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाट समातेको हो ।

काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक तास बारमद गरेको थियो । उनीहरू अहिले पनि कालीमाटी प्रहरीको हिरासतमा रहेका छन ।