राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् ।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।

सन् २०१२ को मेमा विमलले एएफसी यू-१४ फुटबल फेस्टिबलमा नेपालको अन्डर १४ टीमबाट खेल्दै ८ गोल गरेका थिए, जसमा श्रीलंका अन्डर १४ विरुद्ध गरेको ह्याट्रिक पनि समावेश थियो । त्यहीँबाट उनलाई राष्ट्रिय फुटबलका भविष्यको रूपमा हेर्न थालियो ।

सन् २०१२ को २० सेप्टेम्बरमा उनले नेपाली राष्ट्रिय टीमबाट डेब्यू गर्दै बंगलादेशविरुद्ध खेलेका थिए । सन् २०१३ मा भएको साफ च्याम्पियनसीपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा प्रतिस्थापन खेलाडीको रुपमा आएर गोल गरेपछि विमलको चर्चा चुलिएको थियो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।