प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलको नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ । दूतावासले स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरेको छ ।

हमासले गरेको रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। यसअघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। “गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।