सुर्खेत । जन्डिसको उपचारका लागि साउन ७ गते कैलालीको धनगढीस्थित नोभा अस्पतालमा भर्ना भएका कञ्चनपुरको बेलौरी का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको छ। युवकको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ।

सामान्य स्वास्थ्य समस्या लिएर आएका नसिभको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको हो। मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरवाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले रिफर नगरेको बताए।

आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन्, तर अस्पताल प्रशासनले भने कुनै लापरवाही नभएको दाबी गरेको छ। स्थिति झनझन् उग्र बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गङ्गादत्त बडुले स्थितिलाई नियन्त्रणमा लिन ४ सेल अश्रुग्यास प्रहार गरिएको बताए।

अस्पतालमा भएको तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरू बेलौरी २ कञ्चनपुरका अभिक बूढा र लक्ष्मण बूढा रहेका छन्, जसको उपचार धनगढीकै सारथी अस्पतालमा भइरहेको छ।

अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति नियन्त्रणमा लिन विभिन्न प्रयासहरू जारी छन्।