प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भन्दै फेसबुकमा स्टाटस लेखेका बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावल विरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको छ। रावलले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राख्दै उनलाई ‘देश लुट्ने’ भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले परराष्ट्र मन्त्री आरजु राणासँग फोटो जोडेर ‘भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भन्दै प्रधानमन्त्री र मन्त्रीको आलोचना गरेका थिए।

उनको स्टाटसप्रति अजित कुमार लामाले उजुरी गरेपछि प्रहरीले उनलाई सार्वजनिक घृणा फैलाएको आरोपमा गत साउन ३२ गते पक्राउ गरेको थियो। पक्राउ परेका रावललाई मङ्गलबार जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो। रावल हाल सिन्धुपाल्चोकको बाह्रबिसे स्थित किस्टोन अस्पतालमा कर्मचारीका रूपमा कार्यरत छन्। फेसबुकमा आलोचना लेखेकै कारण उनलाई मुद्दा चलाइएको भन्दै यो घटना चर्चामा रहेको छ। स्रोत :- मकालु खबरबाट।