२०८१ साल भाद्र १८ गते, नेपालका मध्यपश्चिम विश्वविद्यालय (एमयु) र भारतको मध्यप्रदेशस्थित आइआइटी इन्दोर (IIT Indore) बीच द्विपक्षीय समझदारी पत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि सानेपामा अवस्थित मध्यपश्चिम विश्वविद्यालयको सहकार्य तथा विकास अध्ययन संस्थान (MICD) मा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

सम्झौतामा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र आइआइटी इन्दोरका डाइरेक्टर प्रा. सुहाश एस. जोशीले हस्ताक्षर गरेका थिए। उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी तथा ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ्का डीन सह-प्रा. डा. सुदीप ठकुरी, आइ आइटीका डीन प्रो अविनाश सोनावानी, विभिन्न प्राध्यापक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्झौताले दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरूलाई अनुसन्धान, प्रकाशन, र शैक्षिक भ्रमणमा सहभागिताको अवसर दिनेछ। यस समझदारीले दुवै देशका शैक्षिक संस्थाहरूसँग को आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास प्रकट गर्दै उपकुलपति प्रा. डा. गौतमले भने, “यस सम्झौताले प्राध्यापक र विद्यार्थीहरूको ज्ञान र अनुभव आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

उक्त अवसरमा एमआइसिडीका कार्यकारी निर्देशक प्रा. डा. दिनेशराज भुजु र आइआइटी इन्दोरका डीन प्रा. सोनावानीले आफ्ना संस्थाहरूमा हाल चलिरहेका शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। सम्झौताले दुवै देशका प्रतिष्ठित शैक्षिक संस्थाहरूबीच भविष्यमा थप सहकार्यको ढोका खोल्ने  छ।