सुर्खेत।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को अध्यक्षतामा “उपकुलपतिलाई स्वागत तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।वीरेन्द्रनगर नगरपालिकाको मुटुमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका बीचको आपसी सहकार्य र सहयोगमा यस क्षेत्र र समग्र देशकै शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित शैक्षिक गतिबिधि बारे छलफल र आपसी समझदारी कायम गर्नुनै उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख उदेश्य रहेको थियो ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उप-प्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद जैशीज्यू, सम्पूर्ण वडाका वडा अध्यक्ष तथा प्रतिनिधिहरु, कार्यपालिका सदस्यज्यूहरु, विश्वविद्यालयका पदाधिकारी तथा उप-प्राध्यापकहरु, नगरपालिकाका कर्मचारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले विश्वविद्यालय सबैको अपनत्व भएको एक साझा थलो भएकाले आपसी सहकार्य र हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले विश्वविद्यालयलाई थप उचाईमा पुर्‍याउन तथा यस क्षेत्रको शैक्षिक उन्नयनका लागि नगरपालिका तथा स्थानीय बुद्दिजिवि, समाजसेवी तथा शिक्षाप्रेमी महानुभावहरुको सहयोग र सहकार्य अपरिहार्य भएकोले सबैले आपसी सुमधुर सम्बन्धका साथ् अगाडी पढ्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो ।

नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष मोहनमाया ढकाल (भण्डारी)ले “शैक्षिक प्रशासनिक र पर्यटन शहर, स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर” नै नगरपालिकाको मूल मन्त्र र नारा भएको तथा शिक्षा प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै मध्यपश्चिम विश्वविद्यालयसंगको सहकार्य अत्यन्तै उच्च महत्वका साथ लिएको उल्लेख गर्नुभएको थियो । उहाँले वीरेन्द्रनगर नगरपालिका र समग्र शिक्षा क्षेत्रको विकासमा मध्यपश्चिम विश्वविद्यालयको अहम भूमिका रहेको उल्लेख गर्दै नगरपालिका परिवार सदैव सहकार्य र हातेमालो गर्न तत्पर रहेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा नगर-उप प्रमुख प्रमुख प्रशाशकिय, वडा अध्यक्षहरु तथा प्राध्यापकहरुले विश्वविद्यालय र नगरपालिका एवं वडाहरु बीचको सहकार्य र आपसी सम्बन्ध कसरी प्रभावकारी ढंगबाट अगाडी बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो । विशेष गरी विश्वविद्यालयका भौतिक संरचना तथा शैक्षिक कार्यक्रमहरुको सम्पूर्ण वडाहरुमा विस्तार एवं समान पहुँच, शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी न्यूनीकरणको चुनौती र बढ्दो युवा विदेश पलायन, सामुहिक सामाजिक सचेतनामुलक कार्यक्रम लगायतका महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो ।नगरपालिकाको सभा हलमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रमको संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रकाश लामिछानेज्यूले गर्नुभएको थियो भने नगरप्रमुख लगायत जनप्रतिनिधी एवं नगरपालिका परिवारले उपकुलपतिज्यूलाई स्वागत एवं सम्मान गर्नुभएको थियो ।

साथै उक्त कार्यक्रम मा मध्य पश्चिम विश्व विद्यालय मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख उपप्राध्यापक तेज विक्रम बस्नेत, ग्रयाजुएट स्कूल अफ म्यानेजमेन्ट का विभागीय प्रमुख उपप्राध्यापक खेमराज रावत र प्रगतिशील प्राध्यापक संगठन कर्णाली प्रदेशका अध्यक्ष उपप्राध्यापक कमलराज लम्साल सहितको उपस्थिति रहेको सन्देश थापा ले बताए ।